गोरखा– गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न संघ संस्थाहरूले माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त शिला वर्षौँदेखि एक घरमा पूजा गर्दै आएको पाइएपछि त्यसलाई गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न माग गरिएको गुरु गोरक्ष धाम सिद्धाश्रम केन्द्रका दिनेश दानीले बताए ।
‘टल्किने ढुङ्गा गोरखाको पवित्र धार्मिक स्थल गोरखकाली र गोरखनाथ भूमिमै राख्नुपर्छ भनेर हामीले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र पनि बुझाइसकेका छौँ’, उनले भने, ‘केन्द्रसहित जिल्लाभित्रका अन्य संघ संस्थाहरूले पनि सो ढुङ्गा बाहिर जिल्लामा नपठाउन अनुरोध गरेका छन् ।’
करिब ५४ किलोग्रामको टल्कने अलौकिक शिला कुनै पनि बहानामा गोरखा जिल्लाबाहिर नपठाई मूल धनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्नेमा विभिन्न संस्थाहरूले माग गरेका हुन् ।
बिहीबार विभिन्न आठ वटाभन्दा बढी संघ संस्थाले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई कार्यकक्षमै पुगेर ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।
टल्कने शिला पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अवस्थामा जिल्ला प्रहरीले बरामद गरेको थियो ।
‘एकातिरबाट लाइट बाल्दा अर्कोतिर वारपार हुन्छ,’ कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘बरामद गरिएको ढल्कने शिला चोरी गरिएको नभई पुर्ख्यौली रूपमा घरमा राखिएको अवस्थामा पाइएको थियो ।’
शुक्रवार पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले समेत उक्त टल्कने शिला मूल धनिकाे सहमतिमा गोरखा सङ्ग्रहालयमा राख्न आग्रह गरेका थिए ।