गोरखा– धार्चे गाउँपालिका-३, उहियामा रहेको तातोपानी कुण्ड प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
भौगोलिक रूपमा टाढा रहेको उत्तरी गोरखाको उहिया बेसीमा रहेको तातोपानी कुण्ड प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो ।
जमिनभित्रबाट ३० डिग्री सेल्सियसको तातो पानी आउने कुण्डमा स्नान गरेमा हाड जोर्नी, चर्म, ग्यास्ट्रिक, नशा, बाथ, ढाड दुख्ने, आङ खस्ने, पेट सुन्निने, गलगाँडलगायतका रोग निको हुने जनविश्वास छ ।
कुण्डको पानीबाट बिरे नुनको गन्ध आउँछ । स्थानीयका अनुसार अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी यहाँ आउने गर्छन् । यहाँ गोरखा, लमजुङ, तनहुँ, चितवन, धार्दिङलागयतका स्थानीय स्नान गर्न आउँछन् । कुण्ड क्षेत्रमा सानो कुण्ड छ ।
कुण्डमा पुग्न गोरखा सदरमुकाम आरूघाट गाउँपालिकाको केन्द्र आरूघाट हुदैं माछाखोलाबाट पनि करिब ८ किलोमिटरको दुरीको मोटर बाटो हुँदै जान सकिन्छ । कुण्डमा नेपाली बाहेक विदेशीले समेत नियमित स्नान गर्न थालेका छन् । तर, उनीहरू प्राकृतिक चिकित्सालयमा विश्वास नभएको भए पनि तातोपानी आउने कारणले स्नान गर्ने गरेको स्थानीयले बताउँछन् ।
यो कुण्डमा स्नान गर्दा मसल पेन, ढाड कम्मरलगायतका रोग, जोर्नी दुखाइ र बाथ रोग, लामो समयसम्म लागेको रुघाखोकी ठिक गर्ने जनविश्वास रहेको पाइन्छ । त्यस्तै, मानसिक तनाव ठिक, युरिक एसिड, शरीर सुन्निने, तातोपानीमा ब्ल्याक साल्ट र फस्फोरस हुने भएकाले नेचुरल एन्टिवायोटिकको काम गर्ने गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ बत्ताउँछन् ।
तातोपानी कुण्डलाई संरक्षण गर्न गत आथिक वर्षमा गाउँपालिकाले २०७९/८० मा डिपिआरकाे लागि ५ लाख र प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट मार्फत स्थानीयको सहयोगमा टहरा बनाउने तथा धारा व्यवस्थापन गरेको वडा न ३ का वडाध्यक्ष शेरबहादुर गुरुङले बताए ।
यो कुण्डमार्फत आन्तरिक आय गर्ने तरिकाले पालिका र वडा कार्यालय तथा स्थानीयको सहयोगमा योजना निर्माण गर्न लागिएको वडाध्यक्ष गुरुङ बताउँछन् ।
‘यो कुण्डमा सडकको छेउमा भएकाले पनि हामीले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिरहेको छैनौँ,’ उनले भने ‘सरकारका तिन वटै तहसहित स्थानीयको सहयोगमा यो कुण्डलाई व्यावसायिक रूपमा प्रचार प्रसार गरी बढी भन्दा बढी पर्यटक भित्र्याउने हामीले योजना निर्माण गरिरहेका छौँ ।’