काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै छ ।
आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारीत गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको हाे।
मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी मादि्रक उपकरणमा लचकता अपनाउन सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
४ प्रतिशत रहेको सीआरआरलाई यथावत राख्दै घट्दो मुद्रास्फीतिलाई मध्यनजर गर्दै नीतिगत करलगायत ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई घटाउन सक्ने अवस्था रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
राष्ट्र बैंकले सिथिल अर्थतन्त्रलाई केही चलायमान बनाउन मौद्रिक नीतिको कार्यदिशा केही खुकुलो बनाए पनि निजी क्षेत्रमा जाने कर्जा उच्च दरमा विस्तार गर्ने पक्षमा छैन । खस्कँदो कर्जाको गुणस्तरलाई मध्यनजर गर्दै कर्जा विस्तार भन्दा पनि असुली गर्नुपर्ने गभर्नर अधिकारीले बताउँदै आएका छन् ।
मौदि्रक नीतिले निजी क्षेत्रमा जाने कर्जाको विस्तार करिब १० प्रतिशतको नजिक हुने लक्ष्य लिनसक्ने स्रोतको दाबी छ ।
मौद्रिक नीति अगाडि गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो ।
आईएमएफले विस्तारित कर्जा सुविधा (ईसीएफ) को विषयमा छलफल गरेको राष्ट्र बैंकले दाबी गरे पनि छलफलमा मौदि्रक नीति लचिलो बनाएर बाह्य क्षेत्रमा दबाब बढाउने नीति नलिन दबाब दिएको स्रोतको दाबी छ ।