काठमाडौँ– लामो समयदेखि सामाजिक न्यायका क्षेत्रमा निरन्तर क्रियाशील रहेका इन्द्रराज भट्टराईलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार’बाट सम्मान गरिएको थियो ।
भारतको नयाँ दिल्लीमा हिजो आयोजित उक्त कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले उक्त सम्मान गरेका थिए ।
गोरखाको पालुङटार नगरपालिका-२, आँपपिपल भट्टराई विगत लामो समयदेखि लैङ्गिक हिंसा र मानव बेचबिखन विरुद्ध तथा महिला सशक्तीकरण, सामाजिक न्याय, सकारात्मक सोचलगायतका विषयमा समुदायमा अभियान सञ्चालन गर्दै अराइरहेका छन् ।
नयाँ दिल्लीमा भएको उक्त कार्यक्रममा ‘नेपाल र भारतमा मानव बेचबिखनको अबस्था’ विषयमा महत्त्वपूर्ण कार्यपत्रहरू प्रस्तुत भएको थियो।
पूर्व सचिव तथा नायव महान्यायाधिवक्ता कृष्णजीवि घिमिरेले ‘नेपालमा मानव बेचबिखनबारे विद्यमान कानुन’, भारतका वाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ‘भारतमा मानव बेचबिखनबारे विद्यमान कानुन’, सामाजिक अभियन्ता भट्टराईले ‘सीमा पार मानव बेचबिखन र ओसारपसार, उद्धार र स्वदेश फिर्ती’, राष्ट्रिय बाल अधिकार परिषद्, नेपालका उपाध्यक्ष बम बहादुर बानियाँले ‘नेपालमा बाल अधिकार र बालबालिकाको बेचबिखन’ तथा नेपाली दूतावास दिल्लीका एसएसपी उमा चतुर्वेदीले ‘मानव बेचबिखन र कानुन कार्यान्वयनका चुनौती’ विषयमा महत्त्वपूर्ण प्रस्तुति गरेका थिए ।
उक्त प्रस्तुतिहरूले प्रस्तुत विषयमा गम्भीर बहस वर्तमान नीतिगत अवस्था र भावी कार्यदिशाको बारेमा दुई देशबिच महत्त्वपूर्ण छलफल भएको बताइएको छ।
भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा भारतीय सम्बन्धित निकायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।