फाइल तस्बिर
काठमाडौं- नेकपा माओवादी केन्द्रले पहिलो पटक विधान सम्मेलन गर्न छलफल केन्द्रित गरेको छ ।
पार्टीको साउन १७ गतेदेखि तीन दिनसम्म काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा विधान सम्मेलनबारे छलफल हुने भएको हो ।
०७८ साल पुसमा भएको आठौँ महाधिवेशन लगत्तै विशेष महाधिवेशन गर्ने समझदारी भएको थियो । तर, पार्टी पदाधिकारी बैठकमा नेताहरुले विशेष महाधिवेशन भन्दा विधान सम्मेलन गर्न सुझाव दिएको नेताहरुले बताएका छन् ।
माओवादीलाई विधि विधानमा चलाउन विधान सम्मेलन गर्न नेताहरुले सुझाव दिएपछि विशेष महाधिवेशन रोकिएको हो ।
जनयुद्धकालीन नेतृत्व, विचार, संगठन चल्न नसक्ने भएपछि समय सापेक्षतामा पार्टीलाई रुपान्तरण गर्न विधान सम्मेलन गर्न थालिएको नेताहरु बताउँछन् ।
पार्टी उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशन भन्दा विधान सम्मेलन गर्नेगरी छलफल केन्द्रित भएको बताए । कांग्रेस, एमाले लगायत दलले विधान सम्मेलन गरेर पार्टीलाई व्यवस्थित गरेकाले माओवादीले समेत विधान सम्मेलन गर्नुपर्ने पुनले बताए ।
पदाधिकारीबाट एजेण्डा फाइनल भएपछि १६ गते बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्ने भएको छ ।