गोरखा– धार्चे गाउँपालिकाले केही दिनदेखि परिरहेको लगातारको वर्षाका कारण पालिका आसपासका क्षेत्रमा नदी तथा खोला नालामा पानीको सतह बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
गाउँपालिकाले सार्वजनिक सूचना निकालेर अविरल वर्षाका कारणले गाउँपालिका हुँदै बग्ने बुढीगण्डकी, रेसे खोला तथा अन्य खहरे खोलाहरूमा पानीको सतह र बहाव अत्यधिक बढ्न गएकाले जुन सुकै बेला बाढी र पहिरोको जान सक्ने जोखिम रहेकाले सतर्क रहन पालिकावासीहरूलाई सचेत गराएको हो ।
त्यस्तै पानीको सतह बढेका बेला नदी तथा खोला किनारा आसपासमा आवत जावत गर्न र बसोबास गर्दै आएका नागरिकहरूलाई सतर्क रहन गाउँपालिकाले सूचना मार्फत आह्वान गरेको छ । गए राती देखि परेको वर्षाले रेसे खोलामा आएको बाढीले खोला किनार माछिखोला बगरमा केही क्षति पुर्याएको समेत गाउँपालिकाले जनाएको छ ।
उक्त स्थान अत्यन्तै बाढी र पहिरोको अत्यन्तै जोखिममा रहेका हुँदा त्यस क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूलाई यथाशीघ्र सुरक्षित स्थानमा सर्न समेत गाउँपालिकाले विशेष अपिल गरेको छ ।
साथै वर्षा यामको समयमा बाढी पहिरोको सम्भावित जोखिमबाट बच्न त्यस्ता जोखिमयुक्त स्थानहरूमा आवतजावत नगर्न गाउँपालिकाले पालिकावासीलाई आग्रह गरेको गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् ।