काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।
पूर्वसभामुखसमेत रहेका माओवादी नेता महराका बाबुछोरालाई सुन तस्करीमा उन्मुक्ति दिइएको भनी सञ्चारमाध्यममा समाचार आइरहेका बेला महराले आफू त्यसमा संलग्न नरहेको जिकिर गरेका हुन्।
यस क्रममा उनले सुन तस्करीका बिचौलियासँग फोन सम्पर्क गरेको भनी सञ्चारमाध्यममा सार्वजनिक फोन नम्बर आफ्नो नभएको स्पष्टीकरण दिएका छन्।
तर उनले आफ्ना छोरा राहुल महराका विषयमा भने केही बोलेका छैनन्।
‘केही दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रस्ट पारिसकेको जानकारी गराउन चाहन्छु। फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु’, माओवादी नेता महराले बिहीबार बिहानै जारी गरेको वक्तव्यमा भनिएको छ,‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रस्ट पार्न चाहन्छु।’
साथै उनले सुन तस्करी प्रकरण अनुसन्धानमा आफूले पनि सघाउने वचन दिएका छन्।
‘साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु’, उनले भनेका छन्, ‘अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’