काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११ औँ महाधिवेशनमा आइसिसी सचिव खगेन्द्र न्यौपानेले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।
एनआरएनए मलेसियाको अधिवेशन सफलतापूर्वक सम्पन्न गरे पश्चात् न्यौपानेले उपाध्यक्षमा अघि बढ्ने निर्णय गरेका हुन् ।
उनले एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए अभियन्ताहरूबाट आएको सल्लाह र सुझावका आधारमा आफूले संस्थाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको र छिट्टै एक सार्वजनिक कार्यक्रम गरेर आफ्नो प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्ने बताए ।
न्यौपानेले मध्यपूर्व, मलेसिया, कोरिया, युरोपलगायत देशका लाखौँ नेपालीहरूको मुद्दा उठाउन, उनीहरूको समस्याको समाधान गर्न, रेमिटेन्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैँको नेपाली कायम राख्न नागरिकताको मुद्दालाई प्राथमिकता दिएर अघि बढ्न लगायतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन् ।
हाल गैर आवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरू अधिकारबाट देशका लागि योगदान दिने गैर आवासीय नेपालीहरू वञ्चित भएको अवस्था रहेकाले योजनाबद्ध रूपमा त्यसको सम्बोधन गर्नुपर्ने बताए ।
न्यौपाने एनआरएनए धेरै ठुलो संस्था भएकाले नतिजामुखी बन्न नसकेको अवस्थामा एनआरएनएको संस्थागत सुधारलाई पनि आफ्नो एजेन्डा बनाएका छन् । उनले विदेशमा बस्ने नेपालीहरूका प्रमुख समस्याहरूमा सबै एकत्रित भएर संस्थालाई एक र मजबुत बनाएर अगाडी बढाउनुपर्ने बताएका छन् ।
विश्वका प्राय सबै देशका राष्ट्रिय सम्मेलन सकिइसकेको अवस्थामा अत्यन्त सफल व्यवसायी र सामाजिक अभियन्ता, एनआरएनए अभियानमा लामो समयदेखि आफ्नो समय व्यतीत गरेका न्यौपानेको उपाध्यक्षको उम्मेदवारीलाई एनआरएनए अभियन्ताहरूले सकारात्मक हेरेका छन् ।
मलेसियालाई आफ्नो कार्यक्षेत्र बनाएका न्यौपानेलाई मलेसिया, एसिया र मध्यपूर्वबाट ठुलो समर्थन रहेको छ । यस बाहेक धेरै मतदाता भएका युरोप, अमेरिका, अस्ट्रेलिया तथा अफ्रिका क्षेत्र वाटसमेत उम्मेदवारीका लागि आग्रह भएकाले न्यौपाने आशावादी रहेका छन् ।
न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसिसी सदस्य, अध्यक्ष, एसिया प्यासिफिक सह संयोजक हुँदै हाल सचिव रहेका छन् ।
मलेसिया र नेपालका सफल व्यवसायी न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका डाइरेक्टर, विकास हाइड्रोपावर कम्पनीका अध्यक्ष, बुढी गण्डकी हाइड्रोपावर सुपर माछाखोला अध्यक्ष, स्मार्ट होलीडे प्रालि र ग्रिन लाइन ट्राभल्सका अध्यक्ष, भिनोलिभा हस्पिटालिटि प्रालीको अध्यक्ष रहेका छन् ।
योसँगै सेयर बजार, हस्पिटल, रियल स्टेट लगायत अन्य विभिन्न क्षेत्रमा लगानी गरेर उनले देश विकासमा आफ्नो दरो उपस्थिति जनाएका छन् ।
उनले यस अभियानमा केही पाउनको लागी नभई दिनको लागी आएको र आफू बोलीभन्दा काममा विश्वास गर्ने मान्छे भएकाले आफ्नो उम्मेदवारीलाई साथ र समर्थन गर्न विश्वभर रहेका गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् ।
उनले आफूले सबै एनआरएनए अभियन्ताहरू सँगको छलफलपछि उम्मेदवारी दिने निर्णय गरेको बताए ।
एनआरएनएको आगामी अधिवेशनको लागी अध्यक्षमा हालसम्म आरके शर्मा, महेश श्रेष्ठ, हालका अध्यक्ष बद्री केसी र रविना थापाले उम्मेदवारी दिने बताइसकेका छन् भने अन्य पदमा उम्मेदवारी दिने क्रम बढ्दो छ ।