काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लगाएको छ।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआईबीले बिहीबार पक्राउ गरेको हो।
‘उहाँ (सुनिल शर्मा) लाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको पुरानै मुद्दामा पक्राउ गरिएको हो’, नेपाल प्रहरीको उच्च स्रोतले भन्यो, ‘प्लस टु उत्तीर्ण गर्नका लागि नम्बर नपुग्दा उहाँ आफैंले थपेको पाइएको छ।’
उनले गत साउन ३ गते त्रिभुवन विमानस्थल परिसरबाट बरामद १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए।
शर्माले गत साउन १० गते संसद् बैठकमै सुन तस्करीका मुख्य अभियुक्त नसमातिए आमरण अनशन बस्ने चेतावनी दिएका थिए।
कांग्रेसकै सांसद शर्माको सार्वजनिक अभिव्यक्तिका कारण अर्थमन्त्री डा. महत रुष्ट बनेका थिए। उता गृहमन्त्री श्रेष्ठ पनि उनीसँग चिढिएका थिए।