काठमाडौं- राष्ट्रिय सभाकी सांसद डा. विमला राई (पौड्याल) ले सरकारले बहुमतको आडमा सुन तस्करीमा संलग्न व्यक्तिहरुमाथि छानबिन गर्न नदिएको आरोप लगाउँदै त्यस्तो प्रयास गर्नु लोकतन्त्रको लागि नै घातक भएको टिप्पणी गरेकी छन्
शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सत्तापक्षले बहुमतको आडमा सो प्रकरणमा मुछिएकाहरुलाई छानबिनको दायरा नल्याउने काम गरिरहेको आरोप लगाउँदै त्यो लोकतन्त्रका लागि सबैभन्दा कुरुप पक्ष भएको जिकिर समेत गरिन्।
सांसद पौडेलले गृहमन्त्रीमाथि नै सो प्रकरणमा शंका भएकाले एमालेले त्यसका लागि छानबिन गर्न उच्चस्तरीय समितिकै माग गर्नु परेको पनि दोहोर्याइन्।
उनले भनिन्, ‘सिआईवी जुन मन्त्रालयको अण्डरमा बसेर काम गरिरहेको छ। अनि नेपाल प्रहरी अथवा हिजो राजश्व अनुसन्धान विभाग जुन अण्डरमा बसेर काम गरिरहेको छ। जब शंका त्यो मन्त्रालयको नेतृत्वमै पुग्छ भने सिआईबीले अथवा नेपाल प्रहरीले अथवा राजश्व अनुसन्धान विभागले त्यो मन्त्रालयको नेतृत्वलाई पनि शंकाको घेरामा अनुसन्धान गर्लान् त? भन्ने प्रश्न हो। त्यही प्रश्नको निराकरण गर्नका लागि उच्चस्तरीय छानबिन समिति बन्यो भनेदेखि जसलाई शंकाको घेरामा जनताले राखेका छन्।’
सांसद पौडेलले एमालेले सो प्रकरणको छानबिनलाई भरपर्दो र विश्वासनीय बनाउन पनि उच्चस्तरीय छानबिन समिति बनाउन उपयुक्त हुने बताइन्।