काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन अवस्थमा माओवादी लडाकुको शिविरमा भएको भनिएको घोटालाको छानबिन हुनुपर्ने बताएका छन्।
शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले माओवादी लडाकु शिविरमा भएको घोटालादेखि नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणको पनि छानबिन हुनुपर्ने बताएका छन्।
देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताएका छन् । सबै भ्रष्टाचारसम्बन्धी मुद्दाहरुको छानबिनका लागि उच्चस्तरीय आयोग जरुरी रहेको उनको भनाइ थियो ।
डा. भट्टराईले आफू सत्तामा रहेका बेला विपक्षीलाई ठेगान लगाउने नियतसाथ यस्ता विषय उछाल्ने गरेको बताए। तर सरकारका मान्छेहरुले आफ्ना कमजोरी ढाकछोप गर्ने गरेको पनि उनले बताएका छन्।
पत्रकारहरुले भट्टराईलाई विगतमा माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट)मा भएको घोटालाबारे बोलेर अहिले किन चुप लाग्नु भएको भनेर सोधेका थिए।
कुनै एक व्यक्ति लक्षित भन्दा पनि अहिलेसम्म भएका लडाकु शिविर, वाइडबडी जहाजदेखि सबै भ्रष्टाचारकाण्डको छानबिन जरुरी रहेको पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताएका छन्। नेपालको भ्रष्टाचार घटाउने भए यहाँको शासकीय संरचनामै फेरबदल आवश्यक रहेको उनले बताए।
भट्टराईले आफू अहिले पनि भ्रष्टाचारका सबै फाइल खोलेर अनुसन्धान अघि बढाउनु आवश्यक रहेको बताएका छन्। तर भ्रष्टाचार छानबिन माथिबाटै थालिनुपर्ने पनि बताएका छन्।
भ्रष्टाचार छानबिनका लागि अब निष्पक्ष र शक्तिशाली आयोग चाहिने पनि भट्टराईले बताए। गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा नेकपा एमालेले माग गर्दै आएको उच्चस्तरीय छानबिन समितिमा उनले समर्थन जनाए।
एमालेको माग सैद्धान्तिकरुपमा सही रहेको बताएका भट्टराईले तर सबै भ्रष्टाचारका मुद्दा छानबिन गर्नसक्ने शक्तिशाली आयोगको खाँचो रहेको बताए।
भट्टराईले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफूमाथि छानबिन अघि बढे सरकारलाई सहयोग गर्ने पनि बताए।
यस प्रकरण सरकारी निकायले बोलाएमा बयान दिन तयार रहेको पनि भट्टराईलले बताए। तर यी सबै प्रकरणमा उच्चस्तरीय छानबिन समितिको आवश्यकता रहेको उनले बताएका छन्।