काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले माओवादी केन्द्रसँगको सत्ता सहकार्य यथावत राखिए कांग्रेस समाप्त हुने दावी गरेका छन् ।
अदालतको आदेशपछि सीआईबीबाट रिहा हुने क्रममा पत्रकारसँग कुरा गर्दै शर्माले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टन्टबाजी गरेर कांग्रेसका एकएक नेतालाई धूलोपीठो बनाउने योजना बनाएको दाबी गरे ।
गृहमन्त्री श्रेष्ठलाई नहटाए सरकार ढल्ने चेतावनी दिए ।
उनले भने, ‘यिनीहरुले नेतालाई एकएक गरेर धूलोपीठो पार्दैछन् । प्रचण्डलाई यो ठाउँमा पुर्याएको गुन मलाई हतकडी लगाएर तिर्नुभयो । तर, यो आतंककारीहरुसँग गठबन्धन कायमै राख्ने हो भने कांग्रेस सकिन्छ, म यो कुरा मेरा नेताहरुलाई भन्छु ।’
उनले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिए आफ्नो पूर्वनिर्धारित अनसन अघि बढ्ने बताए ।
शर्माले ललिता निवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले पनि हिरासत बाहिर बसेर अनुसन्धान गर्न पाउनुपर्ने बताए।
‘मीनबहादुर जस्ता मान्छेहरु भित्रै छन्। उनीहरुले पनि बाहिर बसेर मुद्धा लड्न पाउनुपर्छ,’ उनले भने, ‘बालकृष्ण खाणले पनि बाहिर बसेर मुद्धा लड्न पाउनुपर्छ। किनभने उहाँहरु भगौडा होइन।’
साथै, उनले आफूले न्याय पाएको भन्दै धेरै मान्छेले न्याय पाउनपर्ने बताए। ‘आज न्याय मैले पाएको छु। धेरै मान्छेले न्याय पाउनपर्छ,’ शर्माले भने।