काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफू हिरासतमा रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्।
बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका सांसद शर्मा शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशपछि रिहा भएका छन्।
रिहा भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले एमाले अध्यक्ष ओलीले आफ्नो पिताजीको जस्तै भूमिका निर्वाह गरेको बताए।
साथै, उनले भिडिओमा उनले दिएको हौसला देखेर आफ्नो मन रोएको पनि बताएका छन्।
‘मेरो पिताजीको जस्तै भूमिका निर्वाह गरिदिनु भएको राष्ट्र नायकका रुपमा उहाँले आफूलाई उभ्याउनु भएको छ केपी शर्मा ओली, उहाँका केही गुणहरु राम्रा छन् मैले पहिले पनि भनेको थिए उहाँ र उहाँको पाटीलाई धन्यवाद दिन चाहन्छु र म उहाँलाई भेट्छु पनि,’ उनले भने।
देश बचाउने अभियानमा फरक पार्टीमा रहेर पनि लागिरहेको उनले बताए।
‘उहाँले हामी जो देश बचाउने अभियानमा फरक पार्टीमा रहेर पनि लागिरहेका छौं यसरी नै बचाउँदै जानुपर्छ राष्ट्र नायकहरुले। उहाँले प्रदान गर्नुभएको हौसला धेरैपछि मैले भिडिओमा देखेँ मेरो मन रोयो,’ सांसद शर्माले भने।
उनले हिरासतबाट रिहा हुँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक सेकेन्ड पनि सत्तामा बस्न नहुने बताए।