काठमाडौं– मन्त्रिपरिषद्मा सीके राउत नेतृत्वको जनमत पार्टीलाई भित्र्याउने तयारीसँगै माओवादी केन्द्रका दुई मन्त्री घर फर्किने भएका छन् । शुक्रवार नै शपथ गर्न लागिएको माओवादीमा कुरो नमिलेका रोकिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीका मन्त्री हेरफेर गरेर जनमतलाई इन गराई आइतबार शपथ गराउने बताइएको छ । शीतल निवासले शपथको समयका लागि बालुवाटारको निर्णय कुरेको छ ।
यसअघि पर्यटन मन्त्री किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एक जनालाई हटाउने भनिएकोमा दुवै मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नदेखिएपछि माओवादी नेतृत्वले उनीहरूलाई फिर्ता बोलाउने भएको हो ।
माओवादीबाट गरिने हेरफेरमा स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउन लागिएको हो ।
जनमत पार्टीले गत असार २६ गते नै मन्त्रीका लागि अनितादेवीको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ। तर त्यसको भोलिपल्ट (असार २७ गते) बिहानै प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको निधन भएपछि मन्त्री नियुक्ति रोकिएको थियो।
आज भने प्रधानमन्त्रीले अनितालाई मन्त्रीमा नियुक्ति गर्ने भएका हुन्।
यसैबिच प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ। त्यसैले अब अर्को मन्त्री थप्दा यही संख्याभित्र समेट्नुपर्ने भएकाले कुनै एक मन्त्रीलाई हटाएर उनको ठाउँमा साहलाई राख्नुपर्ने बाध्यता प्रधानमन्त्री प्रचण्डलाई छ।
सत्तारुढ गठबन्धनका दलबिच प्रधानमन्त्रीकै पार्टी माओवादी केन्द्रको कोटामा जनमतबाट मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको छ। यसैले साहलाई मन्त्री बनाउन माओवादीले आफ्नो एउटा मन्त्रीलाई फिर्ता बोलाउनुपर्नेछ।
बालुवाटार स्रोतका अनुसार संघीय मामिला मन्त्री मोदी र संस्कृति, पर्यटन मन्त्री सुदन किरातीमध्ये एकलाई हटाउने तयारी छ। हाल माओवादी केन्द्रबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन्।
मोदी र किराती यस कारण परे रेड जोनमा
मोदी र किराती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड सन्तुष्ट छैनन्।
मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेका थिए। उनलाई कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लागेको छ।
कर्मचारी वृत्तबाटै पटक पटक सरुवामा चलखेल गरेको र मन्त्रीको मर्यादा नराखी बोल्ने गरेको गुनासो सुनेपछि प्रधानमन्त्री मोदीलाई हटाउने मनस्थितिमा थिए ।
उता मन्त्री किरातीले पनि कामभन्दा हल्ला बढी गरेको निष्कर्ष बालुवाटारको छ। तर मोदी जसरी आर्थिक चलखेलमा किराती मुछिएका छैनन्।