काठमाडाैं– साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
यस वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरूमा दर्शनार्थी भक्तजनहरूको घुइँचो छ ।
यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो । पशुपतिनाथ मन्दिरमा भक्तजनहरू बेलपत्र, फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ ।
साउन महिना र सोमवार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ ।
साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ । भक्तजनहरूले पशुपतिनाथमा भजन कीर्तनसहित नाचगान समेत गरेका छन् ।
विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्दछन् ।
साउनको पहिलो सोमवारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरूले आज गोदान, पूर्ण पात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् ।
साउनको अन्तिम सोमवार आज बिहानैदेखि सुन्दरी जलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड छ ।