काठमाडौं- प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्रले मिहिनेत गर्न सकेमा २०६४ को जस्तै परिणाम ल्याउन सक्ने बताएका छन्।
सरकारमा गएपछि जनतासँग माओवादीको सम्बन्ध चिसिँदै गएको बताउँदै उनले तर अबको ६ महिना राम्रो मिहिनेत गर्न सके २०८४ को चुनावमा २०६४ को जस्तै १२० सिट आसपासको नतिजा ल्याउन सक्ने बताएका हुन्।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकास्थित डाडाँकटेरीमा बिहीबार आयोजित २०औँ दोरम्बा स्मृति दिवसलाई सम्बोधनका क्रममा प्रचण्डको यस्तो दाबी आएको हो।
उनले २०५२ देखि २०६३ सालसम्म माओवादीले रक्तपातपूर्ण क्रान्ति गरेको बताउँदै अब समाजवादका निम्ति शान्तिपूर्ण अभियानमा होमिएको पनि बताए।
दाहालले जनतासँग बिग्रिएको सम्बन्ध अब सुधार्नुपर्ने बताए। ‘हामी अब जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध जुट्दै समाजवादी क्रान्ति सफल बनाउनु पर्छ’, उनले भने, ‘आगामी ३ महिनामा हामी नयाँ वातावरण बनाउँछौँ। त्यसपछिको ३ महिनामा माओवादी पार्टी जीवन्त भएर फर्किन्छ। यति गर्न सकेमा २०६४ को जस्तै नतिजा हामी ल्याउन सक्छौँ।’
उनले सम्बोधनका क्रममा मुलुकको भ्रष्टाचार, विसंगति र अनियमितता हटाउने अभियानमा सरकार रहेको पनि बताए।
दाहालले भ्रष्टाचार अन्त्य गरी सुशासन र विकासको नेतृत्व आफूले गरिरहेको बताउँदै अहिले सत्ता गठबन्धनमा कुनै गडबडी नदेखिएको पनि जिकिर गरे।