काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।
यो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई पनि मुछिए तापनि सीआईबीले उनीहरुको बयान नलिई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
तत्कालीन पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्दै प्रश्न उठेका बेला सर्वोच्च अदालतले २१ साउनमा मन्त्रिपरिषदको निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।
तर सीआईबीले सरकारी वकिलको कार्यालयले दिएको समयसीमा भन्दा दुई दिनपछि आइतबार प्रतिवेदन बुझाउन लागेको सीआईबीका एक अधिकृतले बताए ।
जिल्ला सरकारी वकिलको कार्यालयले गत शुक्रबारभित्र अनुसन्धान प्रतिवेदन बुझाउन सीआईबीलाई भनेको थियो ।
ललितानिवासमा बाँकी रहेको जग्गा हत्याउन भूमाफियाहरुले नक्कली गुठी खडा गरेर त्यसमा फर्जी मोही राखेर सरकारी जग्गा व्यक्तिको नाममा सारेको अधिकृतहरु बताउँछन् ।