काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्।
आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले संसद् तत्काल सुचारु गराउन संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रहसमेत गरे।
देश र जनताको कुरा भएकाले संसद् बैठक छिटोभन्दा छिटो सुचारु गराइनुपर्ने नेता कोइरालाको भनाइ थियो।
उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वाभाविक भए पनि संसद् बैठक भने सुचारु गराउनुपर्ने बताए।
‘संसद् छिटो भन्दा छिटो चल्नुपर्छ। अब पर्सी बैठक बोलाइएको छ। हेरौँ, के गर्नुहुन्छ? यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन। यो देशको कुरा हो। संसद् चल्नुपर्छ। म एउटा सांसद हो। हाम्रो सभापतिजी संसदीय दलको नेता हुनुहुन्छ। उहाँहरूले कोअर्डिनेट गर्ने कुरा हो’, उनले भने, ‘सरकारले को-अर्डिनेट गर्ने कुरा हो। हामी त आउँछौँ। संसद् चलाउनु पर्यो। संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने अभ्यास नै हो। सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन, चल्न दिएन भन्ने। यसमा हामी दुइटै दोषी हौँ। यो सरकारले गर्ने काम हो। प्रतिपक्षले गर्ने काम हो। यो नेपाली कांग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन।’
नेता कोइरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरूले अडान लिन नहुने दोहोर्याए।
भिडिओ