विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बस्ने भनिएको प्रदेश सभाको बैठक अनिश्चित बनेको छ।
प्रदेश सभाकी उपसभामुख सृजना दनुवार बिरामी बिदामा विराटनगरबाट काठमाडौं उडेकी छन्। दनुवार सोमबार बिहान विराटनगरबाट यति एयरलाइन्सको विमानमा काठमाडौं उडेकी हुन्।
यसअघि मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि दर्ता गराएको पत्रमा उपसभामुख दनुवारले नै तोकादेश गरेकी थिइन्। उनले उक्त पत्र सोमबारको प्रदेश सभा बैठकमा प्रस्तुत गर्न भनेकी थिइन्।
तर उपसभामुख दनुवार नै बैठक छल्न काठमाडौं हिँडेकी छन्। सत्ता गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका थापाको विश्वासको मत लिने प्रस्ताव फेल गराउने नेकपा एमालेको रणनीतिअन्तर्गत उपसभामुख काठमाडौं उडेको विराटनगरमा चर्चा छ।
प्रदेश सभाका सभामुख बाबुराम गौतमले यसअघि नै राजीनामा दिइसकेका छन्। सभामुख नभएपछि बैठकको सञ्चालन र अध्यक्षता उपसभामुखले गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
उपसभामुख अनुपस्थित भएपछि प्रदेश सभाका ज्येष्ठ सदस्यले प्रदेश सभा बैठकको सञ्चालन तथा अध्यक्षता गर्नुपर्ने व्यवस्था छ।
तर नेकपा एमालेले आफ्ना सबै ज्येष्ठ सदस्यलाई बैठकमा अनुपस्थित गराउने तयारी गरेको छ। जसअनुसार ७ वटा प्रदेश सभा सदस्य घरबिदामा रहेको पत्र आइतबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ।