काठमाडौं– काठमाडौं महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश काफ्ले नियुक्त भएका छन् ।
सञ्चार, सूचना तथा तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम काफ्लेलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरेको हो। यस दफामा सूचना प्रविधि विभागका प्रमुख सञ्चार रजिस्ट्रार हुने व्यवस्था गरिएको छ ।
काफ्ले सूचना प्रविधि विभागको प्रमुखमा सरुवा भएर आएका हुन् । उनले आजै पद बहाली गरेका छन् ।
स्थानीय पत्रपत्रिका, एफ. एम. रेडियो, केवल टेलिभिजन, अनलाइन श्रव्य दृश्य माध्यम एवं अनलाइन पत्रपत्रिकाको अभिलेखन, नवीकरण र नियमन गर्ने र अभिलेखन भएका सञ्चार माध्यमहरूलाई कुनै खास स्थान, अवधि वा एक बर्ससम्मको प्रेस पास जारी गर्ने काम रजिस्ट्रारवाट हुनेछ ।
महानगरपालिकाको तथ्याङ्क र सूचना प्रविधि व्यवस्थापन, वेभ साइट, सामाजिक सञ्जाल, इमेल व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने, महानगरपालिकाको सञ्चार प्रतिष्ठानको सदस्य सचिवका रूपमा काम गर्ने, सञ्चार रजिस्ट्रारको जिम्मेवारीमा तोकिएका जिम्मेवारी पूरा गर्ने गराउने रजिस्ट्रारका मुख्य काम हुन् ।
नेपालको संविधानको धारा २२६ (१) को व्यवस्थाबमोजिम अनुसूची ८ र ९ मा रहेको अधिकार बाँडफाँडको सूचीमा उल्लेख भएको सञ्चार सम्बन्धी अधिकारको प्रयोग गर्न महानगरपालिकाको २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनबाट ऐन जारी भएको हो ।
पत्रकारिता, प्रकाशन, प्रसारण, पत्रपत्रिका, सूचना, तथ्याङ्क, अभिलेख व्यवस्थापन र नियमन गर्न स्पष्ट कानुनी व्यवस्थाका लागि ऐन जारी गरिएको हो ।
विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग, सञ्चार र सूचनाको हक प्रत्याभूत गराउने विषयमा ऐनमा व्यवस्था गरिएको छ ।
महानगरपालिकाको सूचना, तथ्याङ्क र अभिलेखन कार्यको सबलीकरण, दिगो व्यवस्थापन, सुरक्षित र विश्वसनीय प्रयोगको व्यवस्था ऐनका मुख्य विशेषता हुन् ।