काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ गरी अनुसन्धान गरन नगरे आन्दोलन थाल्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै शाहीले सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पक्राउ नगरेकोमा आपत्ति जनाए।
‘ठूला नेतालाई कानुन नलाग्ने? जनताले गल्ती नगरे पनि कान समातेर जेल हाल्ने?’, उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गरेर हिरासतमा राखेर किन अनुसन्धान नगरेको?’
शाहीले ललिता निवास प्रकरणले ठूला नेतालाई कानुन नै नलाग्ने नजिर बस्न लागेको बताए।
‘देशमा कानुन दुई थरी बनाउनुस्, ठूला नेतालाई नलाग्ने ? उनीहरु प्रहरीको हिरासतमा जाँदै नजाने तर जनतालाई गल्ती नगरे पनि कान समाएर जेलमा हाल्ने कानुन लेख्नुभयो भने सैह्य हुँदैन। हामी संसदसँगै सडकमा आन्दोलन गर्छौँ’, उनले भने, ‘पूर्वप्रधानमन्त्री र ठालुहरुलाई सीआइबीले पक्राउ गरेर हिरासतमा राखेर किन अनुसन्धान नगरेको? सरकारले जवाफ देओस्।’