काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफूहरुले उच्चस्तरीय छानबिन आयोगको माग गरेपछि २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ठूलो मात्रामा सुन बाहिर पठाएर एक क्विन्टल सुन समातिएको बताए ।
उनले भने, ‘यो फगत नौटंकी हो वा खास कारणले समातियो, यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरेपछि त्यसको प्रतीक्षामा छौं ।’
लोकतन्त्रमा प्रतिपक्षको आवाज रोक्न खोजेपछि संसद अवरोध भएको बास्कोटाले बताए । उनले स्टन्ट छाडेर सत्यतथ्य कुरा बाहिर ल्याउन चुनौती दिए ।
सांसद बास्कोटाले पूर्व देखाएर पश्चिम हान्ने माओवादीको नीतिप्रति संकेत गर्दै जलहरी र ३३ किलो सुनको हल्ला सदनमा चलाएर सरकारले एयरपोर्टमा क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको आरोप लगाए ।
उनले नेकपा एसका मेटमणी चौधरी, माओवादी केन्द्रका राजन दाहाल, कांग्रेसका रामहरी खतिवडाहरुप्रति संकेत गर्दै फलानो फाइल खोलेर फलानो नेतालाई थुन्छौं भन्ने हावादारी कुरा नगर्न चेतावनी दिए । उनले सबै फाइल खोल्न चुनौति समेत दिए ।
बास्कोटाले भने–सत्तापक्षले रुखको हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । स्टन्टबाजी होइन जरासम्म पुग्ने हिम्मत देखाउनुस् । सत्तापक्षका सांसदले फलानो विपक्षी दलको नेता फलानो मितिमा जेल जान्छ भन्ने ? लैजानुस् न पाता कसेर,कसले रोकेको छ ? ललकार्ने,तर्साउने किन ? यस्ता हावादारी वाइयात कुरा नगर्नुस्,जनताको नेताको अपमान गर्ने कुरा स्वीकार्य छैन ।
बास्कोटाले हालै प्रधानमन्त्रीले बालुवाटारमा सम्पादकहरुलाई बोलाएर कसले निर्णय गरिरहेको छ आफूलाई थाहा हुन छाडेको भनेर लाचारी व्यक्त गरेकोमा समेत आपत्ति जनाए ।
भिडिओ