काठमाडौं- शहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजनाहरु ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताएकी छिन्।
आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सो कुरा बताएकी हुन्।
उनले समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने भन्दै समय खेर जानु सुशासनको निम्ति भ्रष्टाचार भएको बताउँदै उनले मुलुकमा शुन्य सहनशिलता र सुशासन राख्नको लागि समय खेर फाल्न नहुने उल्लेख गरिन्।
‘सामाजिक आर्थिक पूर्वाधार विकास नगरेसम्म सरकारका दीर्घकालिन योजनाको परिकल्पना पूरा हुन सक्दैन। शहरी विकास मन्त्रालयले शहरी विकास सडक निर्माण र आवास व्यवस्थापनमा उल्लेखनीय काम गर्दै आएको छ। व्यवस्थित र योजनावद्ध शहरीकरणको लागि सडक कालोपत्रे सभाहल निर्माण गरिरहेको छ,’ उनले भनिन्, ‘सामाजिक पूर्वाधारहरु स्वास्थ्य चौकी, हरियालीपार्क निर्माण गरिरहेको छ। विगतमा जस्तै एकीकृत बस्ती विकास र जनता आवास सुरक्षित नागरिक आवास कार्यक्रम अगाडि बढाएका छौं।’
सरकारले बनाउने हरेक योजनाहरु ठेक्का लाग्ने नीति बनाएर पनि कार्यान्वयन गर्न नसकिएको उनले बताइन्। उनले सरकारले आयोजनाको ठेक्का लगाए पनि तोकेको समयमा निर्माण सम्पन्न गर्ने कुरालाई ध्यान दिन नसकिएको बताइन्।
सरकारले आयोजनालाई ठेक्का लगाउने मात्रै नभएर समयमा नै निर्माण सम्पन्न गर्ने नीति लिएको दाबी गर्दै उनले मुलुकमा सामाजिक आर्थिक पूर्वाधार विकास नगरेसम्म सरकारका दीर्घकालिन योजनाको परिकल्पना पूरा हुन नसक्ने उल्लेख गरिन्।
शहरी विकास मन्त्रालयले सहरी विकास सडक निर्माण र आवास व्यवस्थापनमा उल्लेखनीय काम गर्दै आएको बताइन्।
‘नयाँ शहर र स्मार्ट सिटिका लागि मध्यपहाडी लोकमार्ग अन्तर्गत सडक खण्डमा पर्ने १२ वटा शहरहरुलाई र भारतसँग सीमा जोडिएका १७ वटा शहरहरुलाई व्यवस्थित गरेर बसाईसराईलाई नियन्त्रण गरी व्यवस्थित शहर बनाउने योजना छ। सरकारले बनाउने हरेक योजनाहरु ठेक्का लाग्ने नीति बनाएर पनि अहिले पनि कार्यान्व्यन गर्न सकेका छैनौं,’ उनले भनिन्, ‘सरकारले आयोजनाको ठेक्का लगाए पनि अहिले निर्माण सम्पन्न गर्ने भनेर तोकेको समयलाई ध्यान दिन सकेका छैनौं। आयोजनालाई ठेक्का लगाउने मात्रै होइन निस्कर्षमा पुग्नुपर्छ भन्ने निस्कर्षका साथ काम गरेका छौं। समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने गरेको छ।’
मन्त्री गुरुङले व्यवस्थित र योजनावद्ध शहरीकरणको लागि एकीकृत बस्ती विकास,जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम अगाडि बढाइरहेको बताइन्।