गोरखा– उत्तरी गोरखामा फोरजी सेवा बिस्तार गर्न चुमनुब्री गाउँपालिकाले सञ्चारन्त्री रेखा शर्मालाई आग्रह गरेको छ ।
पालिका अध्यक्ष निमा लामासहितको टोलीले मन्त्रालयमा भेट गरी उत्तरी गोरखामा फोरजीसहितको सेवा दिने गरी टावरहरू बिस्तार गर्न आग्रह गरेको हो ।
हिमालपारिको जिल्ला भनेर समेत परिचित चुमनुब्री गाउँपालिकामा नेपाल टेलिकमले सेवा बिस्तार गरेको भएता पनि केही गाउँमा अझै पनि सञ्चार सम्पर्क नहुने गरेको भन्दै सञ्चार मन्त्रीलाई भेटेर उक्त क्षेत्रमा फोरजी सहितको अन्य सव टावरहरू निर्माण गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताए ।
लामा अनुसार अहिले पालिकाको वडा नम्बर ६ को चुमचेत र ७ को छुलेनिले गाउँमा मोबाइल फोनको नेटवर्क नटिप्ने समस्या रहेको बताए । ‘त्यहाँका स्थानीय बासिन्दाहरूले दूरसञ्चार सेवाबाट वञ्चित हुनुपरेको’ भन्दै अध्यक्ष लामाले भने ‘सोही समस्यालाई लिएर सञ्चार मन्त्री रेखा शर्मालाई फोरजी टावर र सव टावर निर्माण गरिदिन आग्रह गर्यौ ।’
भेटमा सञ्चार मन्त्री शर्मा सकारात्मक देखिएको भन्दै अध्यक्ष लामाले अबको केही समय भित्रै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको पनि जानकारी दिए । भेटमा सञ्चार मन्त्रीले प्राविधिक खटाएर आवश्यक व्यवस्था गर्न पनि सचिवलाई तत्कालै निर्देशन दिएको पनि अध्यक्ष लामाले जानकारी दिए ।
अध्यक्ष लामाले मन्त्रीसंगको भेटमा वडा नम्बर ३ को जगत गाउँमा रहेको स्काई टावर विस्थापन गरी फोरजी टावर राखिदिन गरेको आग्रह पनि मन्त्री सकारात्मक देखिएको जानकारी दिए ।