काठमाडौं- काठमाडौं महानगरपालिका, सहरी योजना आयोगले आयोजनामा आधारित करिअर क्याम्प कार्यक्रम सञ्चालन गर्ने भएको छ।
उक्त कार्यक्रमअन्तर्गत अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उर्तीण भएकाहरुलाई ९ महिनाको लागि पूर्णकालीन प्रशिक्षार्थीको रुपमा लिइ महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरुको संरचनागत प्रारुप तयार गरिने भएको छ।
छनौट भएका उम्मेदवारलाई ड्रइङ्ग डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरबाट हुँदै गरेका निर्माण कार्यहरुको सुपरिवेक्षण तथा प्रतिवेन तयार गर्ने काममा खटाइने महानगरपालिकाले जनाएको छ।
उक्त कार्यक्रमका लागि स्नातक तह (अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चर) गरी २२ जना कर्मचारी माग गरिएको छ। इच्छुक व्यक्तिलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र काठमाडौं महानगरपालिकामा आफ्नो आवेदन दिन आह्वान गरिएको छ।