काठमाडौं- जनतासँग माओवादी अभियान अन्तर्गत हरेक नेता एउटा वडामा जानुपर्ने निर्णय अनुसार शनिबार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको चन्द्रागिरी नगरपालिका २ मा पुगे ।
कार्यक्रम सन्चालक सिन्धुपाल्चोक १ का सांसद माधव सापकोटा थिए भने बागमती इन्चार्ज जनार्दन शर्मा फोनमा यता उता कुरा गरिरहेका बेला प्रचण्ड भाषण गर्दै थिए । यत्तिकैमा जनार्दनले आफ्नो मोबाइल फोन प्रधानमन्त्रीलाई दिए ।
भाषण गरिरहेका प्रधानमन्त्रीलाई जनार्दनले आयोजना प्रमुख फोनमा छन् भन्दै दिएपछि प्रचण्डले ‘हेलो नविनजी’ भन्दै कुरा गर्न थाले । प्रधानमन्त्रीले भाषण रोकेर फोनमा कुरा गरे पनि भाषणसरह दर्शकले सुनरहेका थिए ।
उनले आफू चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा आएको र यहाँका जनताले सुरुङमार्गबाट पीडित भएको गुनासो गरेको भन्दै एक साताभित्र समस्या समाधानको उपायसहित आफूलाई रिपोर्ट दिन फोनबाटै निर्देशन दिए ।
उनले भने– यो वडा सुरुङमार्गबाट सबैभन्दा प्रभावित रहेछ । यहाँ सुरुङ खन्दाको आवाजले घरहरु चर्किएको कुरा आएको छ । खानेपानीका मुहान सुकेकोलगायत धेरै समस्या रहेछन् । तपाईले एक साताभित्र समस्या समाधानका उपाय र राहतको कुरासहित मलाई भेट्नुस् अरु कुरा भेटमा गरौंला ।