पोखरा– गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले संघियता बलियो बनाउने काममा कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका हुने बताएकी छिन् ।
राष्ट्रिय कर्मचारी संगठन कास्कीले आयोजना गरेको निजामती कर्मचारी फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिंखडाले संघियता कार्यान्वयनमा कर्मचारीहरूको सहयोग महत्त्वपूर्ण रहेको बताएकी हुन् ।
स्वास्थ्यका लागि खेल आवश्यक भएको बताउँदै मन्त्री सिंखडाले खेलमार्फत एक अर्कामा भएका तिक्तता मेटाउन मद्दत पुग्ने बताइन्
‘खेलकुद प्रतियोगिताले अन्तर सम्बन्धको काम पनि गर्छ, एक अर्कोमा भएका तिक्तताहरूलाई मेटाउने काम पनि गर्छ’,उनले भनिन् ‘यस्ता प्रकारका प्रतियोगिता हुनु आवश्यक छ।’
गण्डकी प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालय पनि आफूले सम्हालेको बताउँदै उनले खेलकुदका विविध शीर्षकहरूमा बजेट विनियोजन गरी खेलकुदलाई प्राथमिकता दिएको बताइन् । कर्मचारीहरू बिचको यो फुटसल प्रतियोगिताले एक आपसमा एकताको सन्देश दिएको र यसले प्रशासनिक देखि विविध गतिविधिमा सहयोग र सद्भाव देखिने मन्त्री सिंखडाको भनाई थियो ।
व्यावसायिक र सृजनशील प्रशासन, विकास समृद्धि र सुशासन भन्ने मूल नाराका साथ निजामती दिवसको अवसरमा राष्ट्रिय कर्मचारी सङ्गठनले आयोजना गरेको प्रतियोगिता २१ गते सम्म पोखरा मुस्ताङ चोक फुटसलमा हुने छ ।
विजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।