काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको भूमिकाको प्रशंसा गरेका छन् ।
निजामती सेवा दिवसको विशेष समारोहमा बोल्दै उनले मुलुकको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण, सेवा प्रवाह र संक्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदानको तारिफ गरेका हुन् ।
सामाजिक न्याय, सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।
‘निरासालाई चिर्दै जनतामा आशाको रक्तसञ्चारहित राष्ट्रको मुहार फेर्ने यस अभियानमा निजामती कर्मचारी साथीहरू मन, वचन र कर्मले दृढतापूर्वक क्रियाशील रहनुहुनेछ भन्ने मैले विश्वास लिएको छु’, प्रधानमन्त्रीले भने ।
लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक संसदमा पठाउने निर्णय गरिसकेकोले दलहरूको सहमतिबाट संसदले उक्त विधेयक यथाशक्य छिटो पारित गर्नेमा प्रधानमन्त्रीको विश्वास छ ।
‘संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, तीन तहबीच प्रशासनको कार्यात्मक अन्तरसम्बन्धलाई मजबुत बनाई प्रशासनिक सङ्घीयतालाई संस्थागत गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा सङ्घीय निजामती सेवा ऐन कोशेढुङ्गा हुने नै छ’, उनको भनाइ छ ।