हेटौंडा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट शक्ति एक हुनुपर्ने अवस्था आएको बताएका छन्।
अहिलेको सत्ता गठबन्धन कति बलियो छ भन्ने देखाउन पनि समाजवादी मोर्चा गरिएको बताएका हुन्।
आइतबार हेटौंडामा समाजवादी मोर्चा घोषणाको प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्रीले सबै कम्युनिष्ट शक्ति एक हुनुपर्ने अवस्था आएकाले समाजवादी मोर्चा बनाएको बताएका हुन्।
‘हालको गठबन्धन टिकाउन मात्रै नभएर ठूलो शक्ति बन्न पनि कम्युनिष्टहरु एक हुनुपर्ने समय आएको छ। हुन त बेला-बेलामा मोर्चा धेरै दिन टिक्दैन भन्ने पनि चर्चा सुन्नमा आएको छ। तर यस्तो होइन’, प्रचण्डले भने।
यस्तै, उनले आफू जति समय प्रधानमन्त्रीका रहने हो, त्यतिन्जेल राम्रो काम गरेर देखाउने बताए। ‘कती समयसम्म प्रधानमन्त्री हुन्छु भन्ने छैन। त्यही पनि प्रधानमन्त्री रहुन्जेल राम्रो काम गर्छु,’ उनले भने।
आफ्नो चीन र अमेरिका भ्रमणको तयारी उत्साहजनक भएको भन्दै उनले अब देश समाजवादको दिशामा अघि बढेको दाबी गरे।
भ्रष्टाचारविरुद्ध र शुसासनका पक्षमा चलाइएको अभियानलाई निरन्तर अगाडि बढाइने उनले बताए। उनले सुशासन, सामाजिक न्याय र समृद्धि अभियान एकथरी मान्छेहरुलाई मन नपरेको बताए।
‘यो अभियान उनीहरुको सोच र उनीहरुले हिजो चलाएको बेथिति र कुशासनविरुद्ध लक्षित छ भन्ने छ’, उनले भने, ‘सरकारको नेतृत्व गरिरहँदा विभिन्न कोणबाट दबाब महसुस भइरहेको छ। पटक पटक प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्दा पर्ने गरेका छन्।’
उनले विस्तृत शान्ति सम्झौताविरुद्ध गएर संविधानमाथि नै प्रहार गर्ने गरी मुद्दा हालिएको पनि बताएका छन्।
‘अदालतमाथि कुनै किसिमको अपमान गर्नु छैन’, उनले भने,‘संविधानको मर्मविपरीत दबाब दिन खोजिएको छ, तर्साउन खोजिएको छ। मुद्दा त परिरहन्छ तर यो सामान्य कुरा हो।’