काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम दिन नसक्ने बताए ।
उनले भने, ‘आफ्नो कार्यादेशअनुसार कर्मचारीले जोखिम उठाउन सक्नु पर्दछ ।’
प्रधानमन्त्री प्रचण्डले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताए । ‘हामी सबैले जिम्मेवारी बहन गर्ने तिरबाट सोच्नुपर्छ । जिम्मेवारी पन्छ्याउने प्रवृत्तिले परिणाम दिँदैन’, उनले भने, ‘जिम्मेवारीमा जोखिम हुन्छ । सबै कर्मचारी जोखिम मोल्न तयार भए मात्रै परिणाममुखी नतिजा आउँछ ।’
प्रधानमन्त्री प्रचण्डले भने, ‘नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरुआत हुनु निकै राम्रो सुरुआत हो । राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मेहनत गर्नुपर्ने देखिन्छ । यसले प्रभावकारी परिणाम दिन सकिन्छ ।’