काठमाडौं– मंगलबार निधन भएका संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज (बिहीबार) अन्त्येष्टि गरिँदैछ।
बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्तिम संस्कार गरिने नेकपा एमालेका सचिव गगन विष्टले जानकारी दिएका छन्।
नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसोदेखि उनको निजी निवास बालुवाटारमा राखिएको छ। बालुवाटारबाट शवयात्रा निकालेर पशुपति आर्यघाटमा पुर्याएर नेम्वाङको अन्तिम संस्कार गरिने विष्टले जानकारी दिएका छन्।
घरमा अचेत अवस्थामा फेला परेका भनिएको नेम्वाङलाई मंगलबार बिहान १:५० त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउने बेला नेम्वाङ जीवित रहेको कुनै संकेत नदिएको चिकित्सकले बताएका छन्।
सीपीआर गरेर मुटुको घड्कन फिर्ता ल्याउने प्रयास गरिए पनि सफल नभएपछि चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए। नेम्वाङको शव मंगलबार र बुधबार दिउँसोसम्म नेकपा एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको थियो।
बुधबार दिउँसो नेम्वाङको पार्थीव शरीर बालुवाटार ल्याइएको थियो। बालुवाटारबाट नै बिहीबार बिहान शवयात्रा सुरु हुने एमाले सचिव विष्टले जानकारी दिएका छन्।
नेम्वाङको शवयात्रा बालुवाटार सुरु भएर शिक्षण अस्पताल हुँदै महाराजगञ्जको नारायणगोपाल चोक निकालिनेछ। नारायणगोपाल चोकबाट धुम्बाराही, चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट लगिनेछ।
नेम्वाङको शवयात्राका कारण बिहीबार बिहान (कार्यालय समय)मा काठमाडौंको महाराजगञ्ज र बालुवाटार क्षेत्रको सवारी आवागमन प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
नेम्वाङको अन्तिम संस्कार हुने दिन बिहीबार सरकारले देशभर शोक बिदा दिएको छ। नेम्वाङको निधनको शोकमा बिहीबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाल दूताबास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।