गोरखा– भीमसेन थापा गाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि ८/१० वर्ष जति भइसक्यो।
हिन्दु धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रूपमा लिइन्छ। हरेक वर्ष भाद्र महिनाको औँसीको दिन कुशे औँसी पर्वमा हिन्दु धर्मावलम्बीले घर–घरमा कुश भित्र्याएर मनाउने प्रचलन रहँदै आएको छ।
पुरोहितले पूजाआजासहित मन्तर जपेर चोखो गरी कुशेऔंसी दिन ल्याएको कुश घरको ढोका अगाडि पालीमा जजमानको घरमा सिउरिएर छोडेपछि घरमा वर्ष भरी पर्ने देव कार्य तथा पितृ कार्यमा त्यहीँ कुश प्रयोग गर्ने गरिन्छ।
तर गएको केही वर्षदेखि कुशेऔंसीको दिन उनको नत पुरोहित नै कुश नै कुश लिएर आउँछन् नत उनी आफैँ कुश लिन जान्छन्। बरु घरमा देव तथा पितृ कार्यमा कुश चाहिए पुरोहितलाई नै ल्याउन लगाएर आवश्यकतामा काम गर्दै आएका छन्।
‘मेरो घरमा मात्र होइन आजभोलि छरछिमेकमा समेत धेरैजसोको घरमा कुश भित्र्याउने चलन हट्दै गएको छ, श्रेष्ठले भने, ‘घर–घरमा कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन्।’
गोरखा नगरपालिका–८ का बमबहादुर खत्रीको घरको घरमा पनि कुश नभित्र्याएको तीन वर्ष भन्दा बढी भइसक्यो ।
‘कुशे औँसीको दिनविहीनै घरको ढोकामा पुरोहित कुश लिएर आउने र ढोकामा दुवे टाँसेर जाने र जजमानले सकेको दान दक्षिणा दिने प्रचलन पुरानो हो,’ उनले भने, ‘हिजोआज पुरोहित आउन पनि छोडी सके हामी पनि खोज्दै जान छोड्यौँ।’
घरघरमा पूजा गर्दा तथा पितृ कार्य पर्दा बजारबाट कुश किनेर ल्याई कार्यहरू गर्ने गरेको उनको भनाइ छ ।
पुरोहितहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरू कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। चाहिएको बेलामा बजार किनेर काम टार्न पाइने भएपछि घर–घरमा कुश भित्र्याउने प्रचलन हट्दै गएको खत्री बताउँछन्।
बौद्धिक सनातन हिन्दु संस्कारमा कुश एउटा अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पति हो।
पितृ कार्यदेखि लिएर देवीदेवताको पूजाआजा अभिषेक, प्राण प्रतिष्ठा आदी कार्यमा कुश मिश्रित जल प्रयोग चोखो नितो गर्नका लागि प्रयोग गरिने भएकाले कुशको धार्मिक महत्त्व रहेको पुरोहित ऋषिराम भट्टराई बताउँछन्।
‘गाउँघरमा पुरोहितको सङ्ख्या पनि बिस्तारै कम हुँदै गएको छ, उनले भने, ‘धेरैजसो पुरोहितका काम गर्नेहरू गाउँ छोडेर सहरतिर पसे, गाउँमा पुरोहित नै पाउन पनि गाह्रो भइसकेकाले पनि कुश भित्र्याउने प्रचलन घट्दै गएको हो।
त्यस्तै पछिल्लो पुस्तामा पुरोहित गर्ने प्रथा परम्परा छोड्दै गएकाले समस्या हुन थालेको पुरोहित भट्टराईको भनाइ छ ।
जप गर्दा, होम, देव पूजा यज्ञयज्ञादी कार्य गर्दा हातमा कुशकोदण्ड लिएर बस्नु हिन्दूधर्मालम्बीले गर्ने कर्मको विशेषता भएकाले कुशको विशेष महत्वहुने उनको भनाइ छ। कुश एक किसिमको वनस्पति हो। यसको स्वरूप धारिलो र टुप्पो तीखो हुन्छ।
कुश घरमा भित्र्याइदा शुभ हुने धार्मिक मान्यता छ। कुश बिना कुनै पनि धार्मिक पितृ कार्य, स्नान, दान, जप, यज्ञ–अनुष्ठान, तप जस्ता कार्य सफल हुँदैनन् भन्ने मान्यता रहेको पुरोहित भट्टराईले बताए।
कुश भाद्र कृष्ण औँसीको दिन बिहानै नुहाएर चोखो गरी धोती लगाएर विधिपूर्वक पूजा गरेर बिहानै उखेल्नुपर्ने धार्मिक मान्यता रहेको उनको भनाइ छ।
‘कुश उखेल्दा उत्तर या पूर्वतर्फ फर्किएर उखेल्नुपर्दछ, पुरोहित भट्टराईले भने, ‘भाद्र कृष्ण औँसीको बेला उखेलिएको कुश एक वर्षसम्म देव अनुष्ठान तथा पितृकर्मीको लागि प्रयोग सकिने शास्त्रमा उल्लेख छ।’
काटेको कुश भने धार्मिक तथा पितृ कार्यका लागि प्रयोग गर्न नहुने भएकाले कुशको फेदको भागमा बलियोसँग समाएर एकै झट्कामा उखेल्ने गरिन्छ। मानिस जन्मँदा, मर्दा तथा पूजाआजाका कार्यमा कुशलाई पवित्र पूजा सामग्रीका रूपमा लिइएको छ। रासस