गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका जनप्रतिनिधि, स्थानीयवासी तथा राजनीतिक दलका नेताहरूले रुइला नाका हुँदै चीन प्रवेशका लागि बोर्डर पासको व्यवस्था मिलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग माग गरेका छन् ।
गाउँपालिका अध्यक्ष निमा लामा नेतृत्वको टोलीले गृहमन्त्री श्रेष्ठलाई मंगलबार मन्त्रालयमा नै भेटेर तत्काल रुइला नाका हुँदै चीन प्रवेशका लागि स्थानीयलाई बोर्डर पासको व्यवस्था मिलाउन माग गरेका हुन् ।
‘कोरोना सङ्क्रमण सुरु भएसंगै बन्द रहेको चीनसँग जोडिएको रुइला नाकामा आवतजावतका लागि खुकुलो भएको छ, तर बोर्डर पास नभएसम्म अझै पनि चीनले प्रवेश गर्न दिँदैन, उनले भने, ‘हामीले गृहमन्त्रीसँगको भेटमा तत्काल त्यस क्षेत्रका बासिन्दालाई बोर्डर पासको व्यवस्था गर्न अनुरोध गरेका छौ ।’
चीनले आफूहरूलाई नाका प्रवेशमा खुकुलो गरेको भए पनि बोर्डर पास बिना नागरिकताको आधार प्रवेश गर्न नदिने बताएको अध्यक्ष लामाको भनाई छ । छेकम्पार स्थित रुइला भन्ज्याङ नाका र सामागाँउको रुइला भन्ज्याङ नाका हुँदै चीन प्रवेश गर्ने नाका कोरोना सङ्क्रमणपछि बन्द भएको थियो ।
त्यस क्षेत्रका बासिन्दाहरूलाई चीनको रुइ कोन्दाङ र जुङ्गा बजारमा दैनिक उपभोग्य सामग्री किनमेल गर्न सजिलो पर्दछ । ‘चुमनुब्री क्षेत्रका बासिन्दाहरूको किनमेल र आउजाउ चीनको बजारमा हुने भएकाले धेरै मानिसहरू बोर्डर क्षेत्रमा प्रवेशका लागि पखाइमा छन्’, उनले भने ‘चीन तर्फबाट आउजाउका लागि बोर्डर पास अनिवार्य गरेकाले गृहमन्त्रीलाई पासको उपलब्ध गराइदिन भेटेर माग गरेका हौ ।’
गृहमन्त्रीसँगको भेटमा सामागाउँमा सशस्त्र प्रहरीको विओपी राख्नका लागि सबै तयारी पुरा भए पनि सामान ढुवानी गर्न नसक्दा ढिलाइ भइरहेको भन्दै सामान ढुवानीका लागि हेलिकप्टरको व्यवस्थाका लागि पहल गरिदिनु समेत माग गरेको उनले जानकारी दिए ।
‘सशस्त्र प्रहरीको विओपी सुरु गर्नका लागि सामाग्री ढुवानीका लागि सडक बाटो पुगेको छैन, अध्यक्ष लामाले भने, ‘त्यसका लागि ठुलो हेलिकप्टर आवश्यक पर्ने भएकाले सरकारले नै पहल गरेर सेनाको हेलिकप्टर मार्फत ढुवानीका लागि व्यवस्था मिलाई दिन अनुरोध गरेका छौ ।’ गृहमन्त्रीसँगको भेटमा अध्यक्ष लामा सहित पूर्व राज्यमन्त्री छमबहादुुर गुरुङ, स्थानीयलगायतको सहभागिता रहेको थियो ।