काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन् ।
महासभामा भाग लिइरहेका प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका सभा हलमा आयोजित एसडीजी समिट २०२३ लाई सम्बोधन गरेका हुन् । उनले अतिकम विकसित देशहरुका अध्यक्षको समूहबाट सम्बोधन गरेका हुन् ।
प्रचण्डले सम्बोधनका क्रममा दिगो विकासका लक्ष्यहरु हासिल गर्न र लिस्ट डिभलप्ड कन्ट्रीहरुको उत्थानका लागि विकसित मुलुकहरुले प्रतिवद्धता जनाएअनुसारको साथ र सहयोग गर्नुपर्ने बताए । सम्बोधनका क्रममा उनले भने, ‘अर्थतन्त्र नै दिगो विकासका लक्ष्यहरु विकाशील देशहरुमा कतिको हासिल भयो भएन भनेर मापन गर्ने विषय हो ।’
उनले नेपालको विकासमा दिगो विकासका लक्ष्यहरु उच्च प्राथमिकताका साथ अघि बढाइएको बताए । ‘दिगो विकासका लक्ष्यहरु हाम्रो नीति र योजनाहरुमा समाविष्ट गरिएको छ’, प्रधानमन्त्री प्रचण्डले सभालाई सम्बाधेन गर्दै भने, ‘हामी २०३० एजेण्डअन्तर्गत गरिबी र असमानता न्यूनीकरण साथै कोही पनि पछि नछोडिउन् भन्ने सिद्धान्तमा लागि प्रतिवद्ध छौं । हामी २०२६ सम्ममा एलडीसी क्याटेगोरीबाट अफलिफ्ट गर्न प्रतिवद्ध रहनेछौं ।’
प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तराष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिए ।
प्रधानमन्त्री प्रचण्डले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसवाट उम्कन उद्दार योजना जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको औंल्याएका छन् ।
उनले अतिकम विकसित देशहरुले स्वदेशी श्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताएका छन् । यसका लागि दोहा कार्ययोजना, जसप्रति अन्तराष्ट्रिय समुदायको समर्थन र प्रतिवद्धता रहेको थियोलाई स्वीकार गर्न आग्रह गरेका छन् । उनले दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत र दिगो रिकभरी हासिल गर्न आवश्यक हुने बताएका छन् ।