भैरहवा– लुम्बिनी प्रदेशमा कालो सिसावाला सवारी साधनको प्रयोग व्यापक रूपमा हुने गरेको छ । धेरै जसो सवारी साधनमा कालो स्टिकर टाँस्ने प्रचलन बढ्दै गएपछि सुरक्षा चुनौती पनि थपिएको सुरक्षा विशेषज्ञहरू चिन्ता व्यक्त गर्दछन् ।
सरकारी तथा निजी सवारी साधनमा कालो स्टिकर टाँसेर कानुनको दुरुपयोग हुने गरेको जनगुनासाहरू प्रशस्त हुने गरेका छन् । तर कारबाही गर्ने निकायहरू भने मौन देखिन्छन् । लुम्बिनी प्रदेशमा प्राय सबै जिल्लामा कालो स्टिकर प्रयोग गर्ने सवारी साधनहरू दर्जनौँ भए पनि कारबाही गरेको सूचना ट्राफिक प्रहरीले दिन सकेका छैन ।
ट्राफिक प्रहरीले कानुन विपरीत स्टिकर प्रयोग गर्ने सवारी साधनहरूलाई निगरानी तथा कारबाहीको प्रक्रिया समेत गर्न नसक्नु दुर्भाग्य बनेको छ । कालो सिसा भएका सवारी साधनभित्र बाहिरबाट हेर्दा केही पनि देखिँदैन । सवारी साधन भित्र हुने कुनै पनि आपराधिक गतिविधि तथा कानुनले निषेध गरेका धन्दाहरू हुने गरेको अपराध अनुसन्धानमा काम गर्ने अधिकृतहरू बताउँछन् ।
कालो सिसा भएका सवारी साधनमा अवैध सामान ओसारपसार, अपहरण, बलात्कार अनैतिक क्रियाकलाप हुने गरेका घटनाहरू आउने गरे पनि न्यूनीकरणका लागि प्रहरीले कुनै पहल गर्न नसकेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले सवारी साधनको सिसामा कालो स्टिकर लगाउँदा सवारी साधन भित्रका गतिविधिहरू सुरक्षाकर्मीहरूले नदेख्ने भएकाले आपराधिक क्रियाकलापहरू हुनसक्ने बताउँछन् । बाहिरबाट हेर्दा भित्रका गतिविधि नदेखिने गरी लगाएका स्टिकरहरू कानुन विपरीत भएकाले ट्राफिक प्रहरीलाई अनुगमन र कारबाहीको लागि निर्देशन गरिने प्रदेश प्रहरी प्रमुख जोशीले बताए ।
नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद प्रसाईँले ट्राफिक नियम विपरीत सिसामा कालो स्टिकरको प्रयोग सवारी साधनमा बढ्दो रहेको स्विकार्दै नियम अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।
कम्पनीबाटै कालो सिसा प्रयोग भएर आएका सवारी साधनहरूमा व्यवहारिक रूपमा कारबाही गर्न गाह्रो भएको जनाउँदै प्रहरी उपरीक्षक प्रसाईँले अन्य सवारी साधनको हकमा निगरानी, अनुगमन र कारबाहीलाई तीव्रता दिने जनाए ।
कार्यालय, बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक होम बहादुर थापाले कालो सिसा प्रयोग भएका सवारी साधनहरू राज्यका उच्च तहका अति–विशिष्ट व्यक्तिहरूले प्रयोग गर्न पाउने ट्राफिक नियम रहेको भन्दै अन्य सवारी साधनहरूमा कानुन विपरीत कालो स्टिकर प्रयोग गरिएको बताए ।
उनले कानुन विपरीत सवारी साधनमा कालो स्टिकर हटाउन ट्राफिक प्रहरीको निर्देशन रहेको भन्दै न्यूनीकरणका लागि सबैको सहयोगको अपेक्षा गरेको बताउँछन् ।
सवारी साधनमा कालो स्टिकर प्रयोग अति विशिष्ट र विशिष्ट व्यक्तिहरूले मात्र गर्न सक्ने भन्दै सर्वोच्च अदालतले समेत अन्य व्यक्तिहरूले सवारी साधनमा कालो स्टिकर प्रयोगमा रोक लगाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवटले जनाएको छ ।
पछिल्लो समय कालो स्टिकरको प्रयोग निजी तथा प्राय सरकारी सवारी साधनमा हुने गरेको छ । जुन कानुन विपरीत हो । यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले कडा कारबाही गर्न आवश्यक रहेको आम मानिसहरूको माग रहेका छ । राजनीतिक प्रभाव भएका मानिस र शक्ति केन्द्रको नजिक रहेको व्यक्तिहरू यस्ता गतिविधिहरू संलग्न हुने भएकाले यसको न्यूनीकरणका लागि सबैले पहल गर्नुपर्ने हुन्छ ।
कानुनले अति विशिष्ट र विशिष्ट व्यक्ति चढ्ने सवारीमा मै कालो सिसा राख्न पाइने प्रावधान गरेकाले अन्यका हकमा कानुन अनुसार ट्राफिक नियमको कार्यान्वयन गर्न सरोकारवालाहरूले माग गरेका छन् ।
प्रहरीको खोजी सूचीमा भएका व्यक्तिहरू समेत कालो सिसाको प्रयोग भएका सवारी साधन भएका सवारी साधन प्रयोग गरेर भाग्न सक्ने भएकाले यो रोक्न पर्ने कानुनका जानकारहरू बताउँछन् ।
कालो सिसा प्रयोग गरेका सवारीलाई स्वरूप परिवर्तन गरेको मान्नुपर्ने कानुन व्यवसायीको तर्क रहेको छ । ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारी साधनलाई कानुन अनुसार जरिवाना समेत गर्न सक्दछ ।