जनकपुर- नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् ।
मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि बताए ।
उनले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मासात गर्दै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले पार्टीका अधिवेशनहरुलाई एकताबद्ध भएर सम्पन्न गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताको रुपमा चित्रण गरे । ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको उनको भनाई थियो ।