मानसरोवर– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् ।
स्थानीय समयअनुसार ९:४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासाबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम छ । प्रचण्डले छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने बताइएको छ ।
साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ताको कार्यक्रम तय छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नु हुनेछ ।
बुधबार चीनको छोङछिङबाट ल्हासा आएका प्रधानमन्त्री दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए ।
प्रधानमन्त्री दाहाल र भ्रमण दलका सदस्य शनिबार छेन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम छ । प्रचण्ड शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।