काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ । पार्टी एकताको विषयमा अन्तर्विरोध चर्किएकै बेला भट्टराईले बैठक बोलाएका हुन् ।
भट्टराईको अध्यक्षमा सोमबार दिउँसो १ बजेदेखि पार्टी कार्यालय तीनकुनेमा बैठक बसेकाे हाे । मंगलबारसम्म चल्ने बैठकमा पार्टी एकता, महाधिवेशनको तयारी, पार्टी निर्माण, जबस र विभाग गठनलगायतबारे छलफलको एजेण्डा रहेको छ ।
यस्तै सरकारले गरेको काम र पार्टी गठन भएपश्चातको समीक्षा गर्ने तयारीसमेत छ। उनका अनुसार मुलत बैठकले पार्टी एकताको विषयमा ठोस निर्णय गर्ने छ ।
पछिल्लो समय माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा अध्यक्षद्वय भट्टराई र महिन्द्रराय यादव समूहबीच मतभेद बढ्दै गएको छ । भदौ ३० गते बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
सोही निर्णयअनुसार भट्टराईलाई बाइपास गरेर माओवादीले यादवलाई पत्र पठाएपछि नेसपाभित्र अन्तर्विरोध चर्किएको छ ।
यादव पक्ष पूर्वसहमति अनुसार माओवादीसँग पार्टी एकताको पक्षमा रहेको छ भने भट्टराई पक्ष माओवादीबाट धोका भएको भन्दै यथास्थितिमा एकताको पक्षमा देखिएको छैन ।
एकताबारे पार्टीमा तीव्र मतभेद रहेको सन्दर्भमा बसेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।