गोरखा– जिल्लाका सडकको नयाँ भाडादर निर्धारण गरेको छ । सोमवार बसेको जिल्ला स्तरीय यातायात व्यवस्था समितिको बैठकले नयाँ भाडादर निर्धारण गरी कायम गरेको हो ।
यसअघि जिल्लाका ग्रामीण सडक स्तरोन्नति भई पक्की सक्दा पनि बढी भाडा लिएको भन्दै जनस्तरबाट आलोचना हुँदै आएको थियो । नयाँ भाडादर अनुसार पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपैयाँ ३४ पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ७ रुपैयाँ ८५ पैसा र कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैयाँ ४४ पैसा भाडादर कायम हुने भएको छ ।
कच्ची सडक कालोपत्रे भइसक्दा पनि कच्चीकै भाडादर कायम रहेको भन्दै तत्काल नयाँ भाडादर कायम गर्न माग गर्दै असोज ८ गते जिल्ला प्रशासन कार्यालयलाई विभिन्न राजनैतिक दलका युवा संगठनले ज्ञापन पत्र बुझाएका थिए ।
पालुङटार नगरपालिका र सिरानचोक, अजिरकोट गाउँपालिकासहित जिल्लाका अन्य क्षेत्र भित्रका मध्यपहाडी लोकमार्ग र अन्य सडकखण्ड, त्यस्तै गोरखा घ्याम्पेसाल आरुघाट सडक खण्ड लगायतका सडकहरूमा कालोपत्रे भइसकेको लामो समय हुँदा समेत सार्वजनिक भाडादर भने कच्चीकै कायम रहेको थियो ।
सार्वजनिक यातायातले मनोमानी रूपमा पक्की सडकमा समेत कच्चीको भाडादर उठाउँदा समेत राज्य र प्रशासन मौन बसेको भन्दै वाइसीएलसहित विभिन्न युवा संगठनले तत्काल आवश्यक पहल गरी नयाँ भाडादर तोक्न अल्टिमेटम दिएको थियो।
गोरखाका सडकमा गोरखा दरौंदी सेवा प्रा. लिको ‘एक्लौटी राज’ (सिन्डिकेट) चल्दै आएको छ । जिल्लाका करिब ४५ भन्दा धेरै गतब्यमा आफ्नो सञ्जाल कायम गरेको गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा.लिले भूकम्पपछि निर्माण भएका सडकमा कच्चीकै दरमा भाडा असुल्दै आइरहेका थिए ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहने यो समितिमा हरेक प्रजिअले भाडा निर्धारण गर्ने अठोट त लिन्थे तर, यातायात व्यवसायीका कारण हुन सकेको थिएनन् ।
गोरखामा रहेर काम गरेका एक प्रजिअका अनुसार प्राय छलफलमा विषय उठेन पनि सबै पक्षको सहमति विना भाडा निर्धारण गर्न नसकिएको उनको गुनासो थियो । हाल गोरखाका प्रजिअका रूपमा दिनेश सागर भुसाल कार्यरत छन् । नयाँ भाडादर कायम भएपछि यातायात व्यवसायीहरू भने विरोधमा उत्रिएका छन् ।