गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे जम्बो टोली लिएर सोमबार मुस्ताङ पुगेका छन् ।
आफूसहित सचिवालयका कर्मचारी, पीए, पीएसओ, राजनीतिक नियुक्तिका पदाधिकारी र अन्य नेपाली कांग्रेस कार्यकर्तासहित ४० जनाको जम्बो टोली लिएर मुस्ताङ पुगेका हुन् ।
मुस्ताङमा उनले कोरला नाकाको अनुगमन गर्नेछन् । यस्तै, केही महिनाअघि आएको हिउँ पहिरोबाट क्षतिग्रस्त स्थानको अनुगमन गर्नेछन् भने, त्यहाँको गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् ।
यसैगरी प्रदेश नीति तथा योजना आयोगले १९ गते बिहान ९ बजे दोस्रो पञ्चवर्षीय योजनाको लागि सुझाव संकलन गर्नेछ । त्यो छलफल जम्मा ३ घण्टा चल्नेछ । छलफल पछि त्यही दिन फर्किने कि २० गते फर्किने भन्ने टुङ्गो नलागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्रोतले बताएको छ ।
स्रोतका अनुसार कांग्रेस नेता, कार्यकर्ता घुमाउने उद्देश्यले मुख्यमन्त्री पाण्डे मुस्ताङ पुगेका हुन् ।
समाचार स्रोत भन्छ, ‘त्यहाँ खासै प्रभावकारी काम छैन । प्रदेश नीति तथा योजना आयोगको छलफल भनिएको छ, त्यो पनि १९ गते जम्मा ३ घण्टा हो । ३ घण्टामा कति नै छलफल हुन्छ ?’
प्रदेश सरकार दोस्रो पञ्चवर्षीय योजना बनाउने तयारीमा भए पनि गम्भिर रुपमा नलागेको ति कर्मचारीले आरोप लगाए । ‘सरकारले झारा टार्ने काम मात्र गरेको छ’, ति कर्मचारी भन्छन्, ‘विज्ञ बोलाउँछ बोल्न नदिई कार्यक्रम टुङ्ग्याउँछ । प्रथम पञ्चवर्षीय योजनालाई नै कपी गरी शीर्षक हेरफेर गरी ल्याउँछ । नयाँपन केही हुने छैन ।’
गोरखाको खोप्लाङका मुख्यमन्त्री पाण्डे गोरखा २ (२) बाट निर्वाचित भएका हुन् । निर्वाचन क्षेत्रमा कमै गएका पाण्डे नेता तथा कार्यकर्ता लिएर विभिन्न स्थानको भ्रमणमा गएको भन्दै चर्को आलोचनासमेत हुँदै आइरहेको छ । उनी माओवादी केन्द्रको समर्थनमा प्रदेशको मुख्यमन्त्री भएका हुन् ।
मुख्यमन्त्री भए पनि निर्वाचन क्षेत्रमा जाँदै नगएको, विकासका केही योजना नै नलगेको भन्दै विरोध भइरहेको समयमा कहिले मुख्यमन्त्रीहरूकाे भेला गरेर त, कहिले संघ सरकारको दैलो चाहादैंमा समय बिताइरहेको उनीमाथि आरोप छ।