रुकुम पश्चिम– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताएका छन्।
बिहीबार दिउँसो बाँफिकोटका सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सत्य निरूपण तथा बेपत्ता सम्बन्धी विधेयक टुंग्याउन सरकारले पहल गरिरहेको बताए।
उनले भने, ‘गाउँमै आएर भेट्न पाउँदा खुसी लागेको छ। महान सहिदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन। तसर्थ, यो परिवर्तनको हकदार तपाईहरू हुनुहुन्छ।’
उनले अघि भने, ‘यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेका छौं। यो पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार हो। फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न म पनि तपाईंहरूमाझ आएको छु।’
उनले सहिद, बेपत्ता र घाइतेहरुको सम्मानकै लागि फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको जानकारी दिए।
उनले भने, ‘फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ, यो जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान हो। यसपटक सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको छ। यो सहिदहरूप्रति उच्च सम्मान हो।’
कार्यक्रममा घाइते योद्धा, सहिद परिवार र बेपत्ता योद्धा परिवारका प्रतिनिधिहरूले प्रतिनिधिमूलक धारणा र सुझावहरू राखेका थिए।