काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुराना राजनीतिक दलहरू एकैठाउँमा उभिनेगरी तयारी भइरहेको बताएका छन्।
शनिबार नेपाली कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन सानेपा पुगेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग सो कुरा बताएका हुन्।
उनले पुराना दलहरूप्रति प्रश्न उठाउने कोशिस भइरहेको भन्दै त्यसको जवाफ दिने तयारी भइरहेको दाबी गरे।
‘यो विषय जसले उठाएको छ, जसको इतिहास, राजनीतिक मुद्दा, संघर्ष, संस्कार सबै हेर्यो भने कुनै औचित्य म देख्दिँन। तैपनि प्रश्न उठाउने कोशिस भएको छ। त्यो कुनै राष्ट्र र जनता, लोकतन्त्र र शान्तिका लागि भएको देख्दिँन,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले यसबीचमा आफ्नो दौडधुप राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याएर जवाफ दिनेगरी भएको पनि बताए।
‘यो बीचमा मेरो दौडधुप प्रमुख राजनीतिक दलहरू एकैठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ। समय आएपछि सबैलाई थाहा हुन्छ। मैले त्यसलाई ठूलो चुनौती त ठानेको छैन, तर प्रश्न उठाउने कोशिस भने भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सबै पुराना दलहरुले जवाफ दिन्छौं, जवाफ दिने समय आउँदैछ।’