मुस्ताङ- चीनको सिमाना कोरला नाकामा नेपालको झन्डा राखिएको छ ।
लोमान्थाङ गाउँपालिकाले कोरला नाकाको नेपाली भूगोलको दशगजा क्षेत्रमा राष्ट्रिय झन्डा राखेको हो ।
जिल्ला प्रशासन कार्यालयको अनुमति र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (विओपी)सँगको समन्वयमा नेपाली झन्डा राखिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुरुङले बताए ।
‘गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले यसै हप्ता कोरला पुगेर २० फिट अग्लो फलामे रड र जस्तामा रंगरोगन गरिएको झन्डा राखेका हौ,’ उनले भने ‘कोरला नाका जाने पर्यटकहरूले नेपालीलाई नेपाली भूमिमा भएको अनुभूति दिलाउन स्थायी प्रकृतिको झन्डा राखेका हौ ।’
कोरला नाकाको चिनिया भूमिमा पक्की सडक, भवन लगायतका लोभलाग्दो भौतिक संरचना बनाएको छ ।
चिनियाँ सुरक्षाकर्मी २४ सै घण्टा सुरक्षा निगरानीमा खटिएका हुन्छन् ।
नेपालतर्फ करिब १५ किलोमिटर टाढा नेचुङमा सीमा सुरक्षार्थ सुरक्षाकर्मी रहेका छन् ।