गोरखा– नेपाल प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका नेता तथा निर्माण व्यवसायी संघ गोरखाका उपाध्यक्ष दिनेश गुरुङ (तमु) जुवाको खालबाट पक्राउ परेका छन् ।
सोमवार साँझ प्रहरीले पिपल थोकबाट उनीसहित पाँच जनालाई जुवाको खालबाट पक्राउ गरेको हो ।
तमु गत असोज ४ गते सडकको ठेक्का हालेको विषयलाई लिएर आफूमाथि कुटपिट गरेको भन्दै गोरखा नगरपालिका–१ छापथोकका रमन भट्टले उनीबिरुद्ध प्रहरीमा जायरी दिएका थिए । घटना लगतै फरार रहेका उनी साेमबार प्रकाउ परेका हुन् ।
पिपलथोक जुवाडेहरूको अखडा रहेको प्रहरीको अनुमान छ । प्राय गाेरखा बजारका व्यापारीदेखि राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्म जुवातास खेल्ने यो ठाँउकाे प्रयोग हुन्छ । स्थानीय लाल प्रसाद श्रेष्ठको घरमा अवैध रूपमा जुवा-तास खेली रहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा श्रेष्ठ, तमु, प्रकाश कुँवर, सुन्दर राना र फिरोज मिया रहेका छन् । उनीहरूबाट ५५ हजार नगद बरामद गरेको प्रहरीले जनाएको छ ।उनीसहित जुवाको खालबाट पक्राउ परेकाहरू विरुद्ध मंगलवार जुवा सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता भएको प्रहरी निरीक्षक शेखर खड्काले बताए ।
उनका अनुसार तमुलाई यस अघिको मुद्दामा पनि आवश्यक अनुसन्धान भइरहेको छ ।
निर्माण व्यवसायी संघ गोरखाका उपाध्यक्ष समेत रहेका तमुलाई जुवा ऐनसँगै यस अघिको मुद्दामा पनि थप कारबाही हुने प्रहरीले जनाएको छ। उनी गत स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट गोरखा नगरपालिकाको उपमेयरका उम्मेदवारसमेत थिए ।