काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा सुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन्।
बिहीबार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले हिंसा मच्चाउने र अन्याय गर्नेहरु नै आज न्यायाधीश बनेर सरकारको साँचो बोकेर शान्ति प्रक्रिया टुंग्याउन भनेर लागेको बताए।
उनले क्रुर हत्या गर्नेहरुका पीडित परिवारको मुद्दालाई क्रान्ति भनेर मुद्दा नै नचलाइएको भन्दै आपत्ति जनाए। उनले हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउने प्रवृत्तिबाट कसरी शान्ति प्रक्रिया टुंगिन्छ? भन्दै प्रश्न गरे। उनले शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी हुनुपर्ने बताए।
उनले भने, ‘हिजो जसले हिंसा मच्चायो, जसले अन्याय गर्यो, उनीहरु नै अहिले न्यायाधीश बनेका छन्, सरकारको ताला साँचो लिएर कस्सिएका छन्, शान्ति प्रक्रिया टुंग्याउन भनेर। गंगा अधिकारी गोरखा उहाँ अहिले पनि अनसनमै हुनुहुन्छ। उहाँका श्रीमान्को लाश अस्पतालमा छ। त्यो लाश उठाउन कुनै ध्यान छैन, यो सरकारलाई। उहाँको छोरो माओवादीले घिसारी घिसारी बोरामा हालेर दुई वटा मोटरसाइकलले घिसारेर मारेको छ। त्यो मुद्दा एउटा फौजदारी मुद्दा नभएर क्रान्ति हो भनेर त्यो मुद्दा नचलाएको छ। कसरी न्याय हुन्छ, तिनै मानिसहरु अहिले सरकारमा छन्। यस्तो मनोदशाले शान्ति प्रक्रिया कसरी सफल होला? शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी हुनुपर्छ। विजयोत्सव मनाउनेहरु तरमाराको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैन।’
उनले सरकारमा रहेकाहरुलाई पीडितप्रति कुनै संवेदनशीलता नभएको बताए। बरु उल्टै हिंसा सुरु गरेको दिनलाई महान दिवस हो भनेर मनाउने र बिदा दिने तर हिजो अनावश्यक ढंगले मारिएकाप्रति कुनै चिन्ता नभएको टिप्पणी गरे। उनले भने, ‘संवेदनशीलता विल्कुल देखिँदैन, उल्टै हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउँछन्, महान दिवस हो भनेर। बिदा दिइएको छ। एक पटक होइन, अब सधैँ हरेक वर्ष। हिजोको हिंसाप्रति, हिजो मानिस अनावश्यक ढंगले मारिए त्यसप्रति कुनै पनि चिन्ता छैन।’ व्याख्या गर्यो।’