सुर्खेत- जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ।
अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो।
भुकम्पमा परी गम्भिर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो।
रुकुमपश्चिको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अनुसार भूकम्पमा परी ५२ जनाको मृत्यु भएको जानकारी दिइन्।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार खलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।
कतिपय ठाउँ सञ्चार सम्पर्क विच्छेद भएको, सडक भत्किएका कारण जान नसकिएको तथा दुर्गम र भौगोलिकरूपमा विकटताका कारण सुरक्षाकर्मी समयमा पुग्न नसकेकाले मानवीय तथा भौतिक क्षतिको संकलन भइरहेको सम्बन्धित जिल्लाका अधिकारीले बताएका छन् ।
मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।