काठमाडौं- जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण सञ्चार क्षेत्रमा भएको क्षति तत्काल अध्ययन गरी सेवा पुनः सञ्चालन गर्न सरकारले नेपाल टेलिकमलाई निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पका कारण भएको क्षतिको तत्काल अध्ययन गरी सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमलाई निर्देशन दिएकी हुन्।
यसको तयारीका लागि टेलिकम बैठकमा जुटेको छ। जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएको छ। हजाराैँ घरलगायत भाैतिक संरचना ध्वस्त भएका छन्।
यो खबर लेख्दासम्म मृत्यु हुनेको संख्या १५४ पुगेको छ। अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो। घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ।