काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि अर्को ठूलो जनताको स्तरबाट भएको विद्रोह र पहलकदमी जनयुद्ध भएको दाबी गरेका छन् ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’ लोकार्पण गर्दै उनले पार्टीभित्रका सबै साथीहरुको टीम नभएको भए यति ठूलो परिवर्तन सम्भव नहुने बताए ।
प्रचण्डले भने, ‘जनयुद्धको त्यसको फिलोसफी, त्यसभित्र लिएका ट्याक्टिस र पोलिसी, त्यतिबेला अपनाइएका कार्यशैली, आचारसंहिता, त्याग तपस्या गरेका थियौं। कुनै तलब सुविधा लिएर होइन, भएको पनि सकेर राष्ट्र र जनताको निम्ति, सबैको पहिचान र अधिकारको लागि, आफू बरु मेटिने तर, जनतालाई अधिकार र समावेशिता चाहियो भन्ने उद्देश्यले हामीले महान त्याग गरेका थियौं । पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि अर्को ठूलो जनताको तहबाट गरिएको महान विद्रोह र पहलकदमी थियो यो । तर, यो आधिकारिक प्रमाणित हुन बाँकी छ ।’
उनले पहिले माओवादी नेताभन्दा सिंह जुरो पलाएको अपराधी चित्रण गरिने गरेको स्मरण गरे । प्रचण्डले पृथ्वी जयन्तीमा आफू प्रधानमन्त्री भएको बेलामा बिदा दिने निर्णय गर्दा आफूलाई खुशी र गर्व लागेको सुनाए ।
उनले जनयुद्ध दिवसलाई बिदा दिने निर्णयप्रति विभिन्न टीकाटिप्पणी हुने गरे पनि त्यसलाई कसैले दबाउन नसक्ने बताए ।
उनले भने, ‘जनयुद्धलाई जति दबाउन खोजिए पनि इतिहासमा पटक पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरि उठ्छ । हजारौं मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाउन सक्दैन । अहिले एकछिन दबाइयो भने पनि फेरि उठ्छ त्यो ।’