काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले फुटेका वामपन्थी दलबीच एकताको पहल सुरु नगरे मुलुकको समृद्धि हुनै नसक्ने दाबी गरेका छन्। कम्युनिस्ट घटक मिलेपछि नै विगतमा ठूल–ठूला राजनीतिक परिवर्तन भएको उनले बताए।
शुक्रबार ललितपुरमा अमृतनाथ तिमल्सिनाको ‘समृद्धि सरोकार’ पुस्तक लोकार्पण गर्दै खनालले एमाले, माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता थाल्न नेतालाई आग्रह गरे।
‘यो संविधानका आधारमा कसैले बहुमत ल्याउन सक्दैन भन्नेहरुलाई विगतमै दुईवटा वामपन्थी पार्टी मिलेर लड्दा करिब दुईतिहाई मत त जनताले दिएका होइनन् र?, एउटै पार्टी पनि बन्यो, तर, त्यो असाधारण शक्ति भएको दुईतिहाईको सरकार हामीलाई पचेन। त्यतिबेला संसद विघटन गहिालियो,’ एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै नलिई उनले भने, ‘दुईतिहाई बहुमत आउनु भनेको हाम्रा निम्ति बढी भयो अनि विघटन गरिहाल्यौं।’
कार्यक्रममा उपस्थित माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र एमालेकी केन्द्रीय सदस्य सुनिता बरालसँग खनालले तीन घटकको एकताको प्रक्रिया सुरु गर्न भने।
‘यो कार्यक्रममा हामी विभिन्न वामपन्थी पार्टीका केन्द्रीय नेताहरू उपस्थित छौँ, यो राम्रो सुखद् संयोग हो,’ खनालले भने, ‘यो देशलाई साच्चिकै अग्रगतिमा लैजाने हो भने मिल्नुपर्छ। दक्षिणपन्थी बाटोबाट देश अगाडि बढ्दैन।’
एमालेमा विद्रोह गरी दुईवर्ष अघि मात्र बनेको एकीकृत समाजवादीका नेता खनालले एकताको पहल गर्न गरेको आग्रह अर्थपूर्ण छ।
‘यो देशलाई अगाडि बढाउने हो भने प्रगतिशील बाटोबाट मात्र सम्भव छ। त्यसका लागि केही कार्यक्रम अघि सार्नुपर्छ, कार्यक्रम कार्यान्वयन गर्न पहिला हामी मिल्नुपर्छ।’
‘नेपालको प्रमुख राजनीतिक अन्तरविरोध पहिचान गरेर अगाडि जानको लागि वामपन्थी एकता आवश्यक छ,’ खनालले थपे, ‘के वामपन्थी हामी एक अर्काका सत्रु हौँ, वैचारिक मतभिन्नतालाई एकै ठाउँमा बसेर मिलाउन सकिन्छ।’
नेता खनालले एमालेको चियापानमा माधव नेपाल नगएको प्रसङ्ग उप्काए। ‘यहाँ विवाद हुने वित्तिकै पानी बाराबार! चिया खान आइजो भन्दा पनि हामी नजाने? त्यो खालको असंस्कृतिबाट हामी मुक्त हुनुपर्छ।’
‘हाम्रोमा चिया खुवाउने संस्कृति माक्सवाद जन्मनुभन्दा अगाडिदेखि चलेको छ। अब साझा आधार खोजौं, वामपन्थी आजको आवश्यकता हो, वैचारिक मतभेदलाई क्रमिक रुपले साँघुरो पार्दै लैजाऊ र यही सन्देश लिएर जाऊ,’ खनालले आह्वान गर्दै भने।
उनले देशमा पछिल्ला दिन केही गतिविधि भइरहेको बताए।
‘पुनरुत्थानवादीहरू जसले ३० वर्ष यो देश लुटेर खाए, जसले जनताका हक अधिकार दमन गरेर खाए,उनीहरु देश बनाउने कुरा गरेर आउन थाले, एजेण्डा के छ भन्दा केही छैन,’ खनालले भने, ‘यसबाट आत्तिनुपर्ने, त्रसिनुपर्ने केही छैन।’
यो देशलाई परिवर्तन गर्नसक्ने ताकत वामपन्थीहरूसँग मात्र भएको उनले जिकिर गरे। अहिले भोगिरहेका समस्या समाधान गर्न सकिने खनालको भनाइ छ।