मुस्ताङ– कोरला नाका आज (कात्तिक २७ गते) बाट सञ्चालनमा आउँदैछ।
बिहान १० बजे नेपाल र चिनियाँ अधिकारीले एक समारोहका बीच नाका सञ्चालनमा आएको औपाचारिक घोषणा गर्ने तयारी भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टासीनर्बु गुरुङले जानकारी दिए।
कोरोना संक्रमणको बेला चार वर्षअघि चीनले कोरला नाका बन्द गरेको थियो। विगत केही समयदेखि सरकारले कोरला नाका सञ्चालनको लागि चीनसँग कुटनीतिक पहल गर्दै आएको थियो। नाका सञ्चालनमा आउने भएपछि स्थानीयबासी खुशी भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको असोजमा गरेको चीन भ्रमणका क्रममा चीनले कोरलालगायतका १४ वटा नेपाल-चीन सिमा नाका सञ्चालनमा ल्याउने सहमति भएको थियो।
नाका सञ्चालनमा आउने भएपछि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका झण्डै एक हजार सर्वसाधारणलाई ‘नेपाल चीन प्रवेश अनुमतिपत्र’ वितरण गरिएको मुस्ताङ प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।
प्रवेश पास भएका नागरिकले अब जुनसुकै समयमा पनि चीन आवत जावतको सुविधा पाउनेछन्।